किसानलाई हल गोरु वितरण

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।

पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए।

किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उनको भनाइ छ । “हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरू समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरूलाई केही राहत पुग्नेछ ।”