बागमती सरकारबाट बाहिरियो एमाले

हेटौँडा । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा(२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।

अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालका अनुसार आइतबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको छ ।