आजदेखि केही दिन मनसुन प्रणाली कमजोर हुने

काठमाडौं । आजदेखि केही दिन मनसुन प्रणाली कमजोर हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए ।

“आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आजदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ”, उनले भनेआजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए ।

उनका अनुसार मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।