
काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिकोा बैठकमा गभर्नर अधिकारीले पछिल्लो समय बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग न्यून भएको बताएका हुन् ।
उनले भनेका छन्– बैंकहरूमा कर्जाको ब्याजदर घटिरहँदा पनि कर्जाको ठोस डिमाण्ड छैन ।माग कतै छ भने पनि उत्पादित क्षेत्रहरूमा कमै छ अहिले अर्थतन्त्रमा रहेको एक खालको चुनौतीकाबीच मौद्रिक नीति बनाउन बसेका छौं, दक्षिण एशियामा नेपालको पोलिसी रेट कम छ । पाकिस्तानको २० प्रतिशत हुँदा हाम्रो ५–५ प्रतिशत छ ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा शिथिलता रहेको भन्दै ‘रिकभरी’ को लागि सबैको समन्वय जरुरी भएको पनि बताएका छन् ।उनले दक्षिण एसियामा नेपालको ‘पोलिसी रेट’ कम रहेकोले अर्थतन्त्रमा संरचनागत समस्या चिर्न अर्थसमितिको महत्वपूर्ण भूमिका रहने भन्दै समस्या समाधानमा जोड दिनु पर्ने सुझाएका छन् ।
राष्ट्र बैंकले ब्याजदर निर्धारण गर्ने जिम्मा बजारलाई छाडेको र बजारमा तरलताको अवस्थाले ब्याजदर निर्धारण गर्ने पनि उनले स्पष्ट पारे ।बजारलाई उस्वीकार गरेर राष्ट्र बैंकले गुणस्तर कर्जा बढाउनु पर्ने र उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘पैसा दिने हो भने लिने मान्छे जति पनि पाइन्छ ।उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गरेर रोजगारी सिर्जना गर्ने कर्जा बढाउनु छ।’
बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएकाले बजेटमा उल्लेखित नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्नेगरी मौद्रिक नीति आउनुपर्ने,सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हुने सबैले स्वीकार गरेकाले मौद्रिक नीतिले आर्थिक वृद्धिको सरकारी लक्ष्य हासिल गर्न ‘प्लेइङ फिल्ड’ तयार पारिदिनु पर्ने जस्ता विषयमा छलफल भएको जनाइएको छ।
