
काठमाडौं । सिमलताल दुर्घटनामा त्रिशूलीमा बेपत्ता दुई वटा बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीले अत्याधुनिक प्रविधिको प्रयोग गरेको छ । सोमबारदेखि त्रिशूलीमा दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरेर खोज्न थालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
असार २८ मा दुई वटा डिलक्स बस भरतपुर नगरपालिकाको सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता छन् । बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीले उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिरहेको छ ।
उच्च प्रविधिको डिभाइस हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट पठाइएको डीएसपी थापाले जानकारी दिए । उनले भने– ‘नेपालमा उपलब्ध मध्येमा उच्च स्तरको सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाएर त्यहाँ रहेका भएका वस्तुहरूलाई स्क्यान गरेर आकृतिको रुपमा देखाउने प्रविधि हो ।
’ सोनार प्रविधिले पानीभित्र दुई सय मिटर गहिराइमा जुनसुकै बस्तु भए पनि पत्ता लगाउने सशस्त्रका अधिकृतहरू बताउँछन् । मोटर बोटमा जडान गरेर सो प्रविधिमार्फत लामा दुरीका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ ।
