निर्माण कार्यले इचंगुनारायण मन्दिर दर्शन प्रभावित,हरिशयनी एकादशीमा समेत छाएन रौनक,दर्शनार्थी अचम्मित

सीता पौडेल(अर्चना)

काठमाडौं।काठमाडौंको नागार्जुन नगरपाललिका–३ मा अवस्थित ‘इचंगुनारायण मन्दिर’को पूनःनिर्माण कार्यका कारण दर्शन गर्न आउने भक्तजनहरुको चाप घटेको छ।

काठमाडौं उपत्यकाका चार महत्वपूर्ण नारायणहरु मध्येका एक महत्वपूर्ण नारायणका रुपमा मानिने इचंगुनारायण मन्दिरमा आज हरिशयनी एकादशीका दिनसमेत श्रद्धालु भक्तजनहरुको खासै चहल पहल देखिएन्।दर्शनका लागि बिहानैदेखि मन्दिर खुला गरिए तापनि दिनभरजसो नै दर्शनार्थीहरुको फाट्टफुट्ट मात्रामा उपस्थिति देखिएको मन्दिर परिसरका पंडित परशुराम रिजालले बताए।उनका अनुसार मान्दिरको भौतिक संरचनाको निर्माण कार्य हुँदै छ केही छैन होला भन्ठानेर पनि दर्शनार्थीहरुको चाप घटेको हुन सक्छ।

साथै उनले एउटा नौलो  कुरा पनि उजागर गर्दै काठमाडौं महानगरले फुटपाथ हटाएपछिको केही प्रभाव समेत भएको बताए।उनले भने, ’म बिहानैदेखि यहाँ बसेको छु।यस्तै फाट्टफुट्ट मात्रै छ।त्यस्तो खास चाप छैन।’ उनले अगाडि भने,‘ मत भन्छु, निर्माण कार्यले मात्रै हैन कि नजिकको छिमेकी नगरपालिका काठमाडौं महानगरपालिकाले फुटपाथ हटाउने नियम लागू गरेका कारण फुटपाथ व्यवसाय गर्ने मानिसहरु विस्थापित भएर पनि यहाँ दर्शनार्थीको चाप घटेको हो ।’

यस्तै नागार्जुनको सानो भ¥याङबाट आएकी दीप्ती अधिकारीले पनि हरिशयनी एकादशीका दिन मन्दिर खाली खाली देखेर आफू अचम्म परेको बताइन्।उनले भनिन्,‘ पहिला पहिला एकादशीका दिन भिडभाड हुन्थ्यो,गेटबाटै लाइन बस्न पर्थ्यो।तर आज त निर्माण कार्यले हो कि,व्यवस्थापन राम्रो नभएकाले हो त्यत्ति मात्रामा दर्शनार्थी देखिन।’

साथै उनले पहिला जस्तो मन्दिर परिसरमा पूजा सामाग्री कत्ति पनि नदेख्दा दिक्क मान्दै भनिन्,‘त्यहीँ पाइन्छ भन्ने लागेर थोरै मात्रै ल्याएका थियौं।धन्न! ल्याइएछ।नत्र त पूजा नै खल्लो हुने रहेछ।’

त्यस्तै सोही ठाउँबाट आएकी नम्रता केसीले पनि यसपालि मन्दिरमा चहल पहल कम देखेर अचम्म लागेको बताइन् ।उनले भनिन्,‘अघिल्ला अघिल्ला वर्षहरुमा त बेस्सरी भीड हुन्थ्यो।गेटबाटै लाइन बस्न पर्थ्यो तर आज त खाली खाली रहेछ,दर्शन त मज्जाले गर्न पाइयो ।यद्यपि निर्माण कार्य भएपनि मन्दिर खोलिसकेपछि अवश्यक व्यवस्था मिलाईदिएको भए दर्शनार्थीहरु धेरै आउँथे होलान्।’

यस्तै चन्द्रागीरीबाट आएकी अञ्जु केसीले पनि लाइन नै बस्न नपरेकोमा छक्क पर्दै भनिन्,’ म त भीड हुन्छ होला, लाइन बस्न पर्छ होला भनेर त्यही मनस्थीतिले आएकी थिएँ ।तर यहाँ त खुला खुला रहेछ ।सजिलै दर्शन गर्न त पाइयो तर सोचेको भन्दा फरक पाएँ ।’ साथै उनले हरिशयनी र हरिबोधनी एकादशीको महत्व निकै रहेको भन्दै आफू सधै यी दुई एकादशी चतुर्मासको ब्रत बस्दै आएको बताइन् ।

त्यस्तैगरि काठमाडौंको गोंगबुबाट इचंगुनारायण दर्शन गर्न आएकी सन्ध्या पौडेल र स्वयंभुबाट आएकी सीमा सुवेदीले पनि अघिल्ला वर्षहरुको तुलनामा यस दिन मन्दिरमा चहल पहल न्युन भएकाले सरासर दर्शन गरेर घुम्ने र साथीहरुसँग तस्विर खिच्न पाएको बताए।उनीहरुले मन्दिर वरपर पहिला जस्तो पूजा सामाग्रीहरुका स्टलहरु नराखीएकोमा गुनासो समेत पोखे।

तर मन्दिरमा दर्शनार्थीको दर्शनको व्यस्थापनमा खटिएका व्यक्तिहरु भने आफू नयाँ  भनेर केही बोल्न मानेन् ।

यता इचंगुनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष श्रीलाल श्रेष्ठले पनि मन्दिरको पूनःनिर्माण कार्य नसकिँदा दर्शन् गर्न आउनेको संख्यामा कमि आएको स्वीकार गरे। हरिशयनी एकादशीमा भन्दा हरिबोधनी एकादशीमा दर्शनार्थीहरुको घुँइँचो हुने गरेको उनको भनाई छ।उनले हरिबोधनी(ठूली)एकादशी अगाबै अबको करिब ३ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम भइरहेको र ठूली एकादशीमा राम्रो व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरे।

उनले भने,‘ अब कार्तिक महिनासम्ममा ठेक्का सम्झौता सकिदै भएका कारण पनि निर्माण कार्य सकेर ठूली एकादशीमा ठुलै वा उचित व्यवस्थापन मिलाइने छ। 

उनका अनुसार मन्दिर निर्माणका लागि भनेर वि.सं. २०७९ साल कार्तिक २० गते जग पूजा गरि माघको २० गतेदेखि डी. आर. कन्सट्रक्सनसँग सम्झौता भएको थियो।काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर विद्या सुन्दर शाक्यले महानगरको तर्फबाट १ करोड सहयोग गरेका थिए।भने,नागार्जुन नगरपालिकाको तर्फबाट रु २ करोड गरि जम्मा ३ करोडको  लागतमा काम भइरहेको छ।

उनले भूकम्पको क्षतीका कारण भन्दा पनि शुरुमा मन्दिर निर्माणमा प्रयोग गरिएका सल्लाका काठमा कीरा लागेर मक्कीदै गएका कारण मन्दिरको जगबाटै पूनःनिर्माण गरिएको  स्पष्ट पारे।साथै अध्यक्ष श्रेष्ठले मन्दिर निर्माणका लागि अहिले सूर्खी चुना प्रयोग भएको पनि जानकारी दिए ।

उनका अनुसार अब प्रमुख कामहरु भनेको  गेट बनाउने र माथिल्लो छानामा पाता राख्न बाँकी छ।यस्तै सुनको जलप लगाएको गजुर जोड्न मात्रै बाँकी छ।भने,तामा र सुनको जलप लगाएको एउटा छानोमा पाता कस्न बाँकी छ ।मन्दिर पुनःनिर्माणको अहिलेसम्मा करिब ८० प्रतिशत काम सकिएको छ।