
सीता पौडेल(अर्चना)
काठमाडौं।काठमाडौंको धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक र पर्यटकीय स्थल बालाजु–बाइसधारा उद्यान परिषरमा रहेको श्री शीतलामाई (प्याथ अजिमा) देवीको मन्दिरमा यो वर्षको क्षमा पूजा यहि श्रावण १७ गते बिहिबार गरिने भएको छ ।

क्षमा पूजाका अवसरमा शुक्रबार श्री शितलामाई भजन मण्डल र बालाजु–बाइसधारा मेला व्यवस्थापन समितिले नेप्सेम्याकसँगको प्राविधिक सहयोगमा मन्दिरको व्यापक सरसफाई गरेर मन्दिरलाई चिटिक्क पारेको छ । भजन मण्डलका अध्यक्ष कृष्णलाल मानन्धरका अनुसार शीतलामाई दर्शन र क्षमा पूजाको धेरै महत्व छ ।

सरसफाई कार्यक्रमका क्रममा उनले सगरमाथाप्रेस डटकमसँग कुरा गर्दै भने, ‘देशमा कोही कसैलाई छाला सम्बन्धी रोग नलागोस् र जान–अन्जानमा गरेका गल्तीहरुको पनि माफी होस् भन्ने उद्देश्यले हरेक वर्ष क्षमा पूजा गर्ने चलन छ ।विगतमा रणबहादुर शाहका पालामा देशमा विफर रोगको महामारी फैलिएको र यसले धेरैलाई दुःख दिएकाले शितलामाई देवीको दर्शन र पूजा गरेपछि निको भएको जनविश्वास रहेको हुनाले क्षमा पूजा गर्ने गरिएको हो ।‘ उनले भने ।
हरेक वर्षको क्षमा पूजाका लागि भजन मण्डलको अगुवाईमा टोलवासीहरुबाटै चन्दा संकलन गरेर पूजा गर्ने गरेको मण्डलका उपाध्यक्ष कान्छाकाजी प्रजापतिले बताए।

अध्यक्ष मानन्धरका अनुसार हरेक वर्ष क्षमा पूजाका लागि लाग्ने खर्च स्थानीयवासीहरुबाट स्वतःस्र्फुत रुपमा चन्दा संकलन गरिदै आइएको छ ।भने, करिब २ लाख २५ हजार खर्च लाग्ने गरेको छ ।त्यस दिन पूजा र प्रसाद ग्रहणका लागि करिब ६ सय भन्दा बढी मानिसहरुको सहभागिता रहने गर्दछ ।
उक्त सरसफाई कार्यक्रममा सो व्यवस्थापन समितिका संयोजक तथा भण्डलका सल्लाहकार गौतम प्रजापतिले शीतलामाई मन्दिरको क्षमा पूजामा समग्र देशवासीहरुमा कुनै प्रकारको रोगको महामारी नआओस् भनेर संकल्प गरिने बताए।

यस्तै सो समितिका कोषाध्यक्ष शिवभक्त रञ्जित र सह-संयोजक प्रकाश बलामीले शीतलामाई मन्दिरको दर्शन र क्षमा पूजाले निकै अर्थ राख्ने गरेको र यसमा मानिसहरुको ठूलो अस्था र विश्वास रहेको बताए ।
क्षमा पूजाको महत्व बारे स्पष्ट पार्दै उनीहरुले राणाकालको समयमा मन्दिर नजिकै माथिपट्टि बन्दीगृह रहेको र उक्त बन्दीगृहमा मानिसहरुलाई औलो ज्वरो,विफर ज्वरोले ग्रस्त बनाउने गरेकोमा त्यहाँ आएर पूजा गरेपछि रोग निको हुने गरेको किंवदन्ती रहेकोले कसैलाई पनि औलो ज्वरो नआओस् भनेर क्षमा पूजा गर्ने चलन चलेको बताए ।

समग्र मानव जातीको रोग निवारण होस् भनेर हरेक वर्ष साउनमा क्षमा पूजा गर्ने चलन रहिआएको रञ्जित र बलामीको भनाई छ ।


