
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ।
काँग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
२७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ। नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्नका लागि प्रतिनिधि सभाको बैठकअघि काँग्रेसको संसदीय दलको बैठक बस्दै छ। सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण ओलीलाई विश्वास प्राप्त गर्न काँग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र समर्थन पनि पर्याप्त हुन्छ।
