
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताए । जल तथा मौसमविज्ञान विभागको निरीक्षणपछि उनले जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर विभागले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।
“जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यावहारिक रुपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,”– मन्त्री खड्काले भने । उनले विकास निर्माणसँग जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाई ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रुपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने उल्लेख गरेका छन् ।
विकास निर्माणको कामलाई असर नपर्ने गरी विभागले खोज र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । मन्त्री खड्काले कर्मचारीको मूल्याङ्कन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्मचारीलाई निर्भीक भएर काम गर्न निर्देशन दिए । उनले विभागका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताए ।
