
सीता पौडेल(अर्चना)काठमाडौं ।
विश्व साइकल यात्री तथा वातावरण अभियान्ता ज्ञान महर्जनले ओसनीया क्षेत्र र युरोपका विभिन्न देशहरुमा थप साइकल यात्रा गर्ने भएका छन् ।
ललितपुरको पाटनमा जन्मिएका महर्जनले विश्व शान्ति र वातावरण संरक्षणको सन्देश फैलाउँदै साइकल यात्रा गरिरहेका छन्।अहिलेसम्म युरोप र एसियाका विभिन्न २२ वटा देशहरुको भ्रमण गरिसकेका उनले पहिलो पटक चीनबाट साइकल यात्रा सुरु गरेका थिए ।आज भन्दा ११ वर्ष अगाडि सन् २०१३ मा चाइनाको गे्रटवालबाट उनले यात्रा शुभारम्भ गरेको सगरमाथाप्रेस डटकमलाई बताए ।
विश्व साइकल यात्री महर्जनले अब भने ओसिनीया क्षेत्रका विभिन्न देशहुँदै युरोपका अन्य थप मुलुकहरुमा पनि साइकल यात्रा गर्ने तयारी गरेको बताएका छन् ।उनी भन्छन्– वातावरण संरक्षण हाम्रो देशको मात्र नभएर विश्वकै जल्दोबल्दो र चासोको विषय हो ।अहिले विश्वमा नै जलवायु परिवर्तनले नराम्रो प्रभाव पारेको छ।यसका असरहरुले वातावरण भयावह बन्दै गइरहेको छ।
जलवायु परिवर्तन अहिलेको अन्तर्राष्ट्रिय बहसको विषय बनेको भन्दै उनले यसमा हरेक राष्ट्रको एकमत हुनुपर्ने आवश्यकता औल्याएका छन् ।
‘वातावरण संरक्षणको काममा अहिले नै लागिएन भने मानिसले गम्भिर परिस्थितिसँग जुध्न् बाध्य हुन् पर्छ ।यो जटिल र संवेदनशील विषयलाई हामीले हेल्चेक्राइँ गर्ने र नजरअन्दाज गर्नुहुँदैन भन्ने लागेर साइकल यात्रा र पर्यावरण संरक्षण अभियानमा जोडिएको हुँ।’ उनले भने।

‘पछिल्लो समय नेपालमा साइकल यात्रा गर्नेहरुको संख्या बढ्दै गइरहेको छ ।तर,यो प्रयाप्त छैन ।नेपाललाई साइकलमैत्री देश बनाउनु पर्छ। यसले वातावरण सुधार तथा संरक्षणमा निकै ठुलो भूमिका खेल्न सक्छ ।’
साथै उनले विश्व साइकल यात्राको क्रममा आफूले विकसित देशहरु वातावरण संरक्षणप्रति निकै जिम्मेवार र संवेदनशील रहेको पाएको बताए।
भ्रमणको अनुभव सुनाउँदै उनी भन्छन,‘अन्य देशमा वातावरणको विषयमा राम्रो नीति छ र उनीहरु सुधारका काममा पनि सक्षम छन्। वातावरण सुधारका लागि विभिन्न तरीकाले पहल गरिहेका देखिन्छन्। बोट बिरुवा रोप्ने,पार्कहरु बनाउने,गाडीहरु पनि नियमित चेकजाँच गरेर मात्र चलाउने गर्छन।विकसित देशहरुमा सरकार नै दत्तचित्त भएर वातावरण सुधारमा लागेको देखिन्छ।
तर,नेपालमा लापर्बाही छ।मान्छेहरुलाई वातावरण सुधार गर्न के गर्नुपर्छ ? भन्ने पनि राम्रो ज्ञान छ। तैपनि नेपालीहरु हेलचक्याँइ गर्छन्।हरेक नागरिकले सचेत र असल नागरिकको परिचय दिने हो भने वातावरण सुधार तथा संरक्षण गर्न आ–आफ्नो तर्फबाट जिम्मेवार बन्नै पर्छ ।पहल गर्नै पर्छ।’
वातावारण जति प्रदूसित हुन्छ त्यति धेरै पृथ्वी तात्ने र यसको नराम्रो असरले प्राणीजगतमा जटिल समस्या सृजना हुन सक्ने भन्दै उनले वातावरण संरक्षणमा विश्व नै एकजुट हुनु पर्ने आवश्यक्ता औंल्याएका छन् ।
‘सन् २०५० सम्म वातावरणलाई ख्याल गरेर सुरक्षित गर्ने पहल अन्य देशहरुमा छ। नेपालमा प्रदूषण कम भए पनि अन्य देशबाट हावाको माध्यमबाट नेपालमा भित्रिने देखिन्छ।तसर्थ वातावरण संरक्षण विश्वकै चासो र सरोकारको विषय हो ।जलवायु परिवर्तनका असर र प्रभावलाई न्युनिकरण गर्न सबै लागिपर्नु पर्छ।’उनले अगाडि थपे।

उनी विश्व साइकल यात्रामा आर्थिक चुनौती र कठिनाइहरु भएतापनि नेपाललाई विश्वमा चिनाउने र वातावरण संरक्षणको सन्देश फैल्याउने उद्देश्य पुरा गर्ने अटोठले निरन्तर यात्रा गर्न प्रेरित गरिरहेको बताउँछन् ।
उनले नेपालमा पनि विद्युतीय गाडीको प्रयोगलाई बढाउनु पर्ने र सरकारले साइकलमा शून्य प्रतिशत वा निकै कम कर लिनु जरुरी भएको पनि बताउँछन्।
जलवायु परिवर्तनको सीधा असर मानिसको स्वास्थ्यमा पर्छ।तसर्थ जलवायु परिवर्तनबाट हुने असरबाट बच्न यसको प्रभाव न्युनिकरणमा पहल गर्नु सबै राष्ट्रिहरुको साझा दायीत्व हो।
रोटरीयनसमेत रहेका उनले रोटरीले गर्ने सामाजिक कार्यका विभिन्न क्षेत्रमा वातावरण संरक्षणलाई समेत महत्वपूर्ण क्षेत्रका रुपमा उल्लेख गरिएको भन्दै आफू विश्व साइकल यात्रामा जाँदा नेपालका रोटरी क्लबहरुले गरेका सामाजिक तथा मानवीय सेवाको सन्देश पनि विश्वसामु फैल्याउन पहल गर्ने बताए।
