
नुवाकोट । कोशीखोलामा आएको बाढीका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ ।
नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको हो । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ ।
स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रूपमा बगर बनेको छ । “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ”, उनले भने, “दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।”
स्थानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुल पनि बाढीका कारण क्षति भएको छ ।पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ ।स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भएको छ ।
तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताएएका छन् । “प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ ।” उनले भनेका छन् ।
