
सीता पौडेल(अर्चना)
१७ साउन,काठमाडौं ।धार्मिक,सांस्कृतिक,ऐतिहासिक तथा पर्यटकीय स्थल बालाजु–बाइसधारा उद्यान परिसरमा रहेको श्री शीतलामाई (प्याथ अजिमा) देवीको मन्दिरमा क्षमा पुजा गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उक्त उद्यानमा अवस्थित सो मन्दिरमा श्री शितलामाई भजन मण्डलको आयोजनामा १६ नं वडासँगको समन्वय र विभिन्न स्थानीय संघ संस्थाहरुसँगको सहकार्यमा वार्षिक क्षमा पूजा आयोजना गरेर राम्रोसँग सम्पन्न गरिएको भजन मण्डलका अध्यक्ष कृष्णलाल मानन्धरले बताए ।

उनका अनुसार हरेक वर्षको साउन महिनामा उक्त मन्दिरमा क्षमा पूजा गर्ने चलन छ ।विशेष गरि पूजाको प्रसादको रुपमा मातालाई ठूलो समयवजी बनाएर प्रसाद चढाउने र पूजा सकिसकेपछि सो प्रसाद सबैलाई बाँडेर खुवाइन्छ।क्षमा पुजा गरिसकेपछि उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई प्रसाद ग्रहण गराएर मात्रै पठाइन्छ ।

शीतलामाई दर्शन र क्षमा पूजाको धेरै ठूलो महत्व र विशेषता रहिआएको भन्दै पूजाका अवसरमा अध्यक्ष मानन्धरले देशमा कोही कसैलाई छाला सम्बन्धी रोग नलागोस् ,जान–अन्जानमा गरेका गल्तीहरुको माफी होस् र घर,परिवार,समाज लगायत सिंगो देशमा नै सुख,शान्ती छाओस् भन्ने उद्देश्यले हरेक वर्ष क्षमा पूजा गर्ने गरेको स्पष्ट पारे।
उनले भने,‘मुख्यतयाः विगतमा रणबहादुर शाहका पालामा मन्दिर माथिट्टि जंगलमा कैदीहरु ल्याएर राख्ने ठाउँ थियो ।त्यस समय उनिहरु सबैलाइै विफर ज्वरोले सतायो र सिकिस्त पा¥यो।त्यसपछि मन्दिरमा आएर पूजा गरेपछि सबैलाई निको (सञ्चो) भएको थियो भन्ने किंवदन्ती छ।’ ‘यसले धेरैलाई दुःख दिएकाले शितलामाई देवीको मन्दिरमा आएर क्षमा पूजा गरेपछि सम्पूर्ण रोग निको भएको जनविश्वासका कारण क्षमा पूजा गर्ने चलन चलिआएको हो।’ उनले भने।

हरेक वर्षको क्षमा पूजाका लागि श्री शितलामाई भजन मण्डलको अगुवाईमा टोलवासीहरुबाटै चन्दा संकलन गरेर पूजा गर्ने गरिएको र यस वर्ष पनि सोही अनुसार स्थानीय दाताहरुबाट चन्दा संकलन गरि पूजा र प्रसादको व्यवस्था गरिएको अध्यक्ष मानन्धरले बताए ।


पूजा र प्रसाद ग्रहणमा करिब ६ सय श्रद्धालुभक्तजनहरुको उपस्थिति रहेको आयोजकको आँकलन छ ।
सो क्षमा पूजामा समग्र देशवासीहरुलाई नै छाला सम्बन्धी कुनै प्रकारको रोग नलागोस्,महामारी नफैलियोस् भनेर संकल्प गरि पूजा गरिएको उनको भनाई छ ।

उक्त क्षमा पूजामा काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नं १७ का वडा अध्यक्ष नविन मानन्धर,वडा नं १६ का वडा अध्यक्ष पुष्प महर्जन,विभिन्न संघसंस्थाका प्रतिनिधीहरु,स्थानीयवासीहरु लगायत विभिन्न ठाउँबाट आएका श्रद्धालु भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

पूजाका अवसरमा मन्दिरमा बिहानैदेखि विभिन्न किसिमका भजनकिर्तन र नाचगान गरि रमाइलो गरिएको थियो । नेवाः सांस्कृतिक भजन खलः क.म.पा.येँ ले सुमधुर भजनकिर्तन प्रस्तुत गरेका थिए ।

