दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

झापा । जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धिमूलक देखिएका छन् । गत आव २०८०र८१ को तथ्याङ्कअनुसार ट्राफिक प्रहरी झापाले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका हुन् ।

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार विशेषगरी चालक परिचालकलाई कक्षा सञ्चालन र सडक प्रयोगकर्ता सर्वसाधारणलाई ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम व्यापक रूपमा गर्दै आएको छ । “ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, लागूपदार्थ मादक पदार्थ सेवनगरी सवारी चलाउनेविरुद्ध अभियान, ओभरटेकसम्बन्धी गरिएका सचेतना कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत दुई लाख ३५ हजार नौ सय ७७ जना प्रत्यक्ष रूपमा लाभान्वित भए ।

गत आवमा पाँच हजार चार सय ३० पटक ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भए”, उनले भने । आर्थिक वर्ष २०७९र८० मा भएका आठ सय चार दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाउनु परेको थियो भने गत आव २०८०र८१ मा भएका पाँच सय ९३ सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको प्रहरी नायब निरीक्षक गौतमले बताए ।

पछिल्लो दुई आवको तथ्याङ्क केलाउने हो भने सवारी दुर्घटनाको सङ्ख्यामा कमी आउनाका साथै मृतकको सङ्ख्यामा २३ दशमलव ६८ प्रतिशतले कमी आएको छ । यसैगरी सवारी दुर्घटनामा परी सामान्य घाइते हुने मानिसको सङ्ख्यामा उल्लेख्य सुधार भएको देखिन्छ ।