भारतीय विदेश सचिव आज नेपाल आउँदै

२७ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् ।

विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरूको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ। उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।