अहिलेसम्म विपद्‌बाट दुई सय ११ को मृत्यु

काठमाडौं। नेपालमा मनसुन पछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्‌बाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट एक सय ७० जना र अन्य विपद्‌बाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा।डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य विपद्मा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छ । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो ।प्रवक्ता भट्टराईका अनुसार यसपाली सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशले बेहोरेको छ ।

बागमती र गण्डकी प्रदेश दुवैमा ५८र५८ जनाको मृत्यु भएको छ । यसैगरी, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरश्चिममा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।यो अवधिमा एक हजार तीन सय ३३ घटना भएकामा तीन हजार ६ सय ४७ परिवार प्रभावित भएका छन् । चार सय पाँचवटा घटना भएको कोशीमा सबैभन्दा बढी एक हजार दुई सय १२ परिवार प्रभावित भएका जनाइएको छ ।

यस्तै, मधेसमा पाँच सय १३, बागमतीमा चार सय ७१, गण्डकीमा चार सय ३७, लुम्बिनीमा तीन सय २६, कर्णालीमा दुई सय ४० र सुदूरपश्चिममा चार सय ४८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राप्त विवरणअनुसार कोशीमा दुई, बागमतीमा ४०, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एकजना बेपत्ता रहेका छन् ।