
कैलाली । आज सुदूरपश्चिम प्रदेशमा जेठो पर्वका रूपमा मनाउने गरिएको ‘वल्के’ पर्व हर्सोल्लासका साथ मनाइँदैछ । भदौ सङ्क्रान्ति अर्थात् १ गतेका दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ ।
आजका दिन बिहानै नुहाइधुवाइगरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रूपमा दूध, दही, पिँडालुको कलिला पात अर्थात् ‘गाभा’, फलफूल आदि दिएर सम्मान गर्ने एकखालको छुट्टै परम्परा रहिआएको छ ।
“त्यस्तै गाउँ घरतिर जसका घरमा गाईभैँसीको दूध, दही अर्थात् गोरस हुँदैन त्यस घरमा दूध, दहीलगायत बाँड्ने प्रचलन छ”, धनगढीका स्थानीय हिरालाल जोशीले भने, “यसलाई हाम्रो स्थानीय भाषामा ‘गोरस’ अर्थात् ‘सितन’ भन्ने गरिन्छ ।”
मौलिक पर्वका रूपमा रहेको यस पर्वमा विभिन्न प्रकारका स्थानीय खानाका परिकार पकाएर खाने र खुवाउने चलन छ । घरपरिवारका सदस्य एकसाथ बसेर मीठो–मसिनो खाइ रमाइलो गरिन्छ ।
