
भरतपुर । भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव ल्याइँदै छ । शव आज रातिसम्म घर ल्याइपुर्याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताइन् । नगरप्रमुख महतोका अनुसार शवको शुक्रबार बेलुका परीक्षण सकिएपछि आज दिउँसो गड्डाचौकीनाका हुँदै नेपाल ल्याइएको छ । शव बोकेको एम्बुलेन्स बाटोमा रहेकाले आज रातिसम्म शव माडी आइपुग्ने उनले जानकारी दिइन् ।
बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरेर घटनास्थलमा मृत्यु भएको हो ।
पहिरोमा परी नगरवासीको मृत्यु भएको थाहा पाएपछि मृतकका परिवारलाई भेट्न गएको नगरप्रमुख महतो बताइन् । मृतक तीनजनाको परिवारको आर्थिक स्थिति कमजोर रहेको भन्दै उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिइन् ।
