काठमाडौं महानगरद्धारा २ वटा स्वास्थ्य संस्थाको फोहर उठाउन रोक

१२ भदौं,काठमाडौं। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाएको छ ।

महानगरपालिकाले मंगलबार गरेको अनुगमनमा ती स्वास्थ्य संस्थाले संक्रमित फोहर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहरलाई निर्मलीकरण गर्न अटोक्लेभ जस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएका कारण फोहर उठाउन रोक लगाएको जनाएको हो ।

त्यस्तै महानगरले एउटै बकेटमा सबै फोहर जम्मा गरेर पोको बनाउने गरेको पाइएको जनाएको छ ।पोको आइ केयरले सवारी पार्किङ् गर्ने ठाउँको एउटा कुनामा राखेको पाइएको र स्किन अस्पतालले घरको छतमा राख्ने गरेको भेटिएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको फोहरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताएकी छिन् ।

उनले भनिन्, ‘मात्रा जति भए पनि संक्रमित फोहर हानीकारक नै हुन्छ।स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहरलाई जोखिममुक्त बनाउने कुनै पनि उपाय अवलम्बन गरेको देखिएन।यसको सम्भावित जोखिम घटाउन यी स्वास्थ्य संस्थाबाट उत्पादित फोहर उठाउन रोक लगाइएको छ’ ।

यसअघि सोमबार गरिएको अनुगमनमा कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको फोहर उठाउन रोक लगाइएको थियो ।

 रङ्ग संकेतअनुसार  फोहर राख्नुपर्नेमा महानगरपालिकाको भनाई छ ।