
१२ भदौं,काठमाडौं।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट संन्यास लिएको घोषणा गरेको टिप्पणी गरेका छन्।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले संसदमा अध्यक्ष प्रचण्डले बोलेको कुरा नियाल्दा प्रचण्डले अब माओवादी केन्द्र र आफू कुनै पनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिक पराजय स्वीकार गर्नुसरह रहेको बताए।
सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भूमिकाबारे प्रश्न गर्दै कुण्ठा व्यक्त गरेको र सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको संन्यासको घोषणा रहेको प्रमुख सचेतक बर्तौलाको भनाई छ।
‘माननीय पुष्पकमल दाहालज्यूले संसदमा बोल्दै गर्दा लाग्यो, आजदेखि माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालज्यूले संसदको रोष्ट्रमबाट औपचारिक ढंगबाट अब म सत्ताको खेलमा छैन,हाम्रो पार्टी सत्ताको कुनै पनि खेलमा जाँदैन,’ उनले भने, ‘उहाँले आफ्नो नाम फेरि पनि दोहोर्याएर प्रचण्ड यो खेलमा छैन भन्नुभयो, यसले देखाउँछ माओवादी केन्द्रका अध्यक्षज्यू, संसदीय दलका नेताले एक प्रकारले भन्ने हो भने राजनीतिबाट संन्यास लिनुभयो।’
प्रमुख सचेतक बर्तौलाले पूर्वप्रधानमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सिएर संसदमा कुण्ठा व्यक्त गरेको बताए।उनले प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकाबाट पनि छिटै नै जनताले हटाउने भन्दै अब धेरै समय कुर्नुनपर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंले जिकिर गरेकोसमेत बताए।
