
१३ भदौं,काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको छ।
आजको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता विस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताए।
एमालेले ११ जिल्लाका बाँकी अधिवेशन गरेर थप व्यवस्थित गर्ने,पार्टी प्रवेश र जिम्मेवारीबिहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने,हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने,कमिटीहरु विधिसम्मत ढंगले सञ्चलन गर्ने लगायतका निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए।
बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने,केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरुमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दिक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गर्ने पनि निर्णय गरेको उनको भनाई छ ।
बैठकमा कम्युनिष्ट पार्टीहरुको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको उपमहासचिव ज्ञवालीले बताए।
