१३, असोज काठमाडौं । उत्तरी गोरखाको लापुबेंसीबाट काठमाडौँको लागि छुटेको बस सम्पर्कविहीन भएको छ । शुक्रवार बिहान गोरखाको लापुबेंसीबाट काठमाडौँको लागि छुटेको ना ४ ख २२७० नम्बरको बस राती १० बजेसम्म धादिङको खानीखोलासम्म सम्पर्कमा आएको त्यसपछि अहिलेसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौंदी यातायात कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
उनका अनुसार शुक्रवार बिहान ७ बजे गोरखाबाट काठमाडौँका लागि ४ जना लिएर हिँडेको दुइसापटी बस सम्पर्कमा नआएपछि गोरखा दरौदी यातायात कम्पनीले एक सूचना जारी गर्दै कोही कसैको सम्पर्कमा नभएकाले कम्पनीले आफ्नोतर्फ खोजी कार्य गरिरहेको र आजसम्म पनि केही पत्ता नलागेकाले खोजी कार्यमा लागिदिन सम्बन्धित निकायलाई सूचनामार्फत अपिल गरेको उनले बताए ।
सम्पर्कविहीन भएका बसमा साहु तथा बस चालक मदन परियार, सहचालक विनायक भट्टराई र दुई जना नाम नखुलेका यात्रु लिएर लापुबेंसीबाट काठमाडौँ जाँदै गर्दा बिच बाटोसम्म टिकट नकाटी बसमा यात्रा गर्नेहरू कति जनाले यात्रा गरेका थिए भन्ने अझै जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
