
१९ असोज,काठमाडौं ।बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।
देवी चन्द्रघण्टाको पूजाआराधनाले शक्ति प्राप्त हुने विश्वासले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिन्छ ।मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ ।
चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको र यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन् भन्ने विश्वास गरिन्छ। चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो।दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ।
चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी,सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो।
