
२० असोज,काठमाडौं ।नेपाल पत्रकार महासङ्घको निर्वाचन आउँदो मङ्सिर २८ गते हुने भएको छ।
भक्तपुरको मध्यपुरथिमिको बोडेमा शनिबार भएको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा सो भेला भएको थियो। महासङ्घका महासचिव रोशन पुरीका अनुसार भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ।
भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय समेत गरेको उनले बताएका छन्।
साथै उनले सदस्यताको विवाद भएमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको पनि भएको बताएका छन् ।
आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने र टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको पनि उनले जानकारी दिए।
कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा. सुरेश आचार्य, डा. महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो।
