सहकारी ठगहरु कानुनको दायरामा ल्याइँदैछ, ५७५ जना जेलमा : प्रधानमन्त्री ओली

कार्तिक ७,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम ठगी गर्नेहरुलाई कानुनको दायरामा ल्याउने क्रम जारी रहको बताएका छन्।

बुधबार सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गर्ने प्रतिबद्धता कार्यान्वयन सन्तोषजनक रहेको प्रकृया जारी रहेको बताए ।

साथै उनले अहिले पनि यस प्रकरणमा ५सय ७५ जना जेलमा रहेको पनि जानकारी दिए ।‘आज यहाँ उभिएर म यो भन्ने ठाउँमा आइपुगेको छु,सर्वसाधारणले जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ, र ल्याउँदैछ’, प्रधानमन्त्रीले भने ।

सहकारी बचत ठगी गर्नेहरुको संख्या बढिरहेको पनि प्रधानमन्त्रीले बताए । ‘सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारबाही अगाडि बढेको छ,हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ,५७५ भन्दा बढी त जेलमै छन्’, प्रधानमन्त्री ओलीले भने।

‘सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन,बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अगाडि बढाइनेछ’,ओलीले भने।