
१५ कार्तिक,काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज एकै दिन कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नु पर्ने भएको छ ।कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ ।
आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद्हरुको भनाई छ ।
आजै औंसी तिथि पनि परेका छन् । औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।
आज नेपालीहरुका घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने चलन छ ।लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो ।
लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।त्यसपछि पाइलैपिच्छेदीयोमा तेल राखेर पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि आज मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद्हरु बताउँछन् ।
आज साँझ घरघरमा भैलो खेल्ने चलन छ । यस दिन बलिराजाको सम्झना गरिन्छ ।र बलिराजाको आज्ञा अनुसार सबैको भलो होस् भन्ने कामना गर्दै भैलेनीहरु घर आँगनमा पुग्ने गर्दछन् ।आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी जस्ता कात्तिकको दान दिने चलन छ ।
यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धनधान्यले युक्त हुने, समृद्धि प्राप्त हुने शास्त्रीय मान्यत रहको छ ।फोटो स्रोतःपुर्णपुष्टी
सबैलाई तिहारको मंगलमय शुभकामना !शुभ—दीपावली!
