बागमतीमा ८ वटा मन्त्रालय मात्रै कायम गरिदै

२३ वैशाख,काठमाडौं । बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ ।

बागमतीमा हाल मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट ल्याएपछि मात्रै मन्त्रालयको संख्यामा हेरफेर गर्ने भन्ने विषयमा रहेको मतभेदलाई स्पष्ट पार्दै सरकारले ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको  हो ।

यसमा वन तथा वातावरणलाई कृषि मन्त्रालयमा,सहकारीलाई कानुन मन्त्रालयमा र यातायातलाई उद्योग मन्त्रालयमा गाभिएको छ ।

सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय,आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय, भौतिक पुर्वाधार विकास मन्त्रालय कायम गर्ने निर्णयसमेत गरेको छ ।

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय,स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम गरिने भएको छ ।

यद्यपी नयाँ आर्थिक वर्ष अर्थात  साउन १ बाट मात्रै यो व्यवस्था कार्यान्वयनमा ल्याइने भएको हो ।