
२० कार्तिक,काठमाडौं । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी सिन्धुपाल्चोककी बिनु शाक्य कम्बोडियाबाट पक्राउ परेकी छन्।
सिन्धुपाल्चोक माम्खा ठेगाना भएकी शाक्य पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ।
कम्बोडिया सरकारको समन्वयमा पक्राउ परेकी शाक्यलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।उनीमाथि वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनि ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको आरोप छ ।
प्रहरीका अनुसार शाक्यसँगै उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो ।
खोजतलासका लागि इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएको थियो । जसमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो । साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो ।
सम्बन्धित कसूरमा कानून बमोजिम कारबाही गराउन उनीहरुलाई प्रहरी वृत्त कालिमाटीमा बुझाइएको ब्यूरोले जनाएको छ ।
