आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

२१ कार्तिक,काठमाडौं। हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

तर कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

महाशाखाका अनुसार उता राती पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुइ स्थानमा पनि मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै भोलि बिहीबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।