नेपालमा दर्ता भयो टिकटक,‘भाइबर’ र ‘वी टक’पनि दर्ता,अन्य दर्ताको प्रकृयामा

२२ कार्तिक,काठमाडौं।सामाजिक सञ्चाल ‘टिकटक’ नेपालमा आधिकारिक रुपमै दर्ता भएको छ।

मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक रूपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचीकरण भएको हो।सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने,व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।

सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ।
मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो।

मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले मङ्गलबार टिकटक प्लेटर्फम विधिवत रूपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिइन्।सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाईसमेत यथाशीघ्र सूचीकरण गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।

साथै हालसम्म ‘टिकटक’सँगै, ‘भाइबर’ र ‘वी टक’ लगायतका सामाजिक सञ्जाल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भइसकेको छ।साथै अन्य सामाजिक सञ्जाल समेत सूचीकरणको प्रक्रियामा रहेको पनि उनले बताइन्।