प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान

२८, मंसिर ढोरपाटन (बागलुङ) । परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् ।

धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राटिकल एक्सन नेपालको सहकार्यमा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण उपलब्ध गराएपछि अहिले गुणस्तरीय दूध उत्पादन गर्न थालेका हुन् । दुई पालिकाका आठ वटा दुग्ध उत्पादन सहकारीमा आबद्ध र ४२ वटा व्यक्तिगत फार्म सञ्चालन गर्दै आएका किसानलाई उपकरण उपलब्ध गराइएको थियो ।

किसानलाई मिल्क एनालाइजर, सोलार वाटर हिटर, चापकटरलगायत आधुनिक उपकरण उपलब्ध गराइएको धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रका इन्जिनियर साजन आचार्यले जानकारी दिए । बागलुङ र काठेखोलाका दुग्ध उत्पादक सहकारी, संघ र व्यक्तिगत फार्ममा आबद्ध किसानलाई गत असोजमा उक्त उपकरण उपलब्ध गराइएको उनको भनाइ छ । इन्जिनियर आचार्यका अनुसार दुई पालिकामा रू ५९ लाख ७५ हजार पाँच सय लगानी गरेको छ ।