
१३, पुस काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको कारण देशका धेरै स्थानहरूमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी,बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासँगै हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश,बागमती प्रदेश,मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्ने महाशाखाको भनाई छ।
वर्षा, हिमपात तथा चिसोका कारण स्वास्थ्य,पर्वतारोहण,हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
