टोखा नगरपालिकाले खुल्ला लिग तेक्वान्दो प्रतियोगिता गर्दै,भोलीसम्म नाम दर्ता गर्न सकिने

सीता पौडेल(अर्चना)
१७ पुस,काठमाडौं । टोखा नगरपालिकाले बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ ।

यहि पुस १९ र २० गते टोखा नगरपालिका वडा नं ५ को प्रांगणमा २ दिनसम्म ‘दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको नगरपालिकाले आज बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।यसअघि पहिलो संस्करण गत भदौं १ र २ गते नागार्जुन नगरपालिकाको स्युचाटारमा रहेको नागार्जुन कवर्डहलमा सम्पन्न भएको थियो ।

काठमाडौं जिल्ला समन्वय समितिसँगको समन्वय र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा आर्थिक व्ययभारसहित अन्य सबै बन्दोबस्त नगरपालिकाले गर्ने गरि आयोजना गरिएको सो प्रतियोगितामा करिब ३०० जना खेलाडीको सहभागीता रहने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि बागमती प्रदेश भित्रका १३ वटै जिल्लाका इच्छुक खेलाडीहरुले भोली १८ गतेसम्म नाम दर्ता गर्न सक्ने समन्वय समितिका संयोजक सन्तोष बुढाथोकिले जानकारी दिए ।लिगमा पुरुषतर्फ पाँच र महिलातर्फ पाँच वटा गरि जम्मा १० वटा तौल समुहमा प्रतिष्पर्धा हुँदैछ। जसमध्ये पुरुषमा ४६–५०,५०–५४,५४–५८,५८–६३ र ६३–६८ तौल समुह र साथै महिलामा ४०–४३,४३–४६,४६–४९,४९–५३ र ५३–५७ केजी तौल समुहमा प्रतिष्पर्धा हुनेछ ।

लिगमा पहिलो हुनेले १० अंक,दोस्रोले ७ अंक र तेस्रो हुनेले ३ अंक प्राप्त गर्नेछन् ।चार चरणसम्म खेल्दा बढी अंक ल्याउने वा प्रथम हुने खेलाडीले गोल्ड मेडल प्राप्त गर्न सफल हुनेछन् । हरेक लिगका विजेताले पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगको समग्र प्रदर्शनमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार पनि रहेको अयोजकले जनाएको छ ।

सो पत्रकार सम्मेलनमा आयोजक संस्था टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले  खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनको लागि नगरपालिका सधैं खेलक्षेत्र र खेलाडीको साथमा रहेको बताए ।

नगरप्रमुख अधिकारीले भने,‘तेक्वान्दो खेलको विकास,विस्तारसँगै समग्र खेलकुद क्षेत्रको विकासका लागि टोखा नगरपाकिला सधैं प्रतिबद्ध छ,खेलाडीलाई महत्व दिने सवालमा,खेललाई प्रवद्र्धन गर्ने सवालमा र व्यक्तिभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्न उचित वातावरण सृजन गर्ने सवालमा नगरपालिका हिजो पनि,आज पनि र भोलि पनि साथमा हुनेछ ।’ उनले थपे ।

‘हाम्रो यस कार्यलाई अन्य पालिकाहरुले पनि स्रहना गर्दै अनुसरण गर्नेछन् भन्ने मैले विश्वास पनि लिएको छु,साथै गरिबीका कारण कोही प्रतिभा आफ्नो रहर मारेर बस्न बाध्य छन् भने नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु।’ नगर प्रमुख अधिकारीले भने।हरेक लिगमा प्रत्येक तौल समुहका विजेता खेलाडीलाई अर्को लिगका लागि खान,बस्न र यातायात लगायतका खर्चसमेत नगरपालिकाले व्यहोर्ने उनले बताए।

पत्रकार सम्मेलनमा समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले तेस्रो लिग प्रतियोगिता आउँदो फागुन महिनामा बुढानिलकण्ठ नगरपालिकाले र चौथो लिग प्रतियोगिता अगामी वर्षको जेठ महिनामा तारकेश्वर नगरपालिकाले आयोजना गर्ने गरि समन्वय भएको जानकारी दिए ।चार पटक आयोजना हुने लिगबाट खेलाडीको वरीयता निर्धारण गरिने पनि उनले बाताए ।

नागार्जुनमा भएको पहिलो संस्करणको खेलका ४० जना विजेता अर्थात पहिलो वरियतामा पदक प्राप्त गरेका ती खेलाडीलाई यो दुइ दिनसम्म खाने,बस्नेलगायतका सुविधा भने कलंकीका होटलहरुमा गरिएको पनि संयोजक बुढाथोकीले जानकारी दिए ।यसका लागि  कलंकी होटल एण्ड गेष्ट हाउस संघका महासचिव राजुघिमिरे र नगरपालिकाका खेलकुद विकास संयोजक नरोत्तम रानाले सम्झौता पत्रमा हस्ताक्षर गरेको पनि उनले बताए ।
प्रतियोगिताको लागि नगरपालिकाले रु. ५ लाख ४० हजार खर्च लाग्ने अनुमान गरको छ। उल्लेखित ४० खेलाडीहरुको बसाई र यातायात खर्चबाहेक अन्य खेलाडीहरुलाई खेल अवधिभर बिहानको खाजा र खानाको बन्दोवस्त पनि नगरपालिकाले नै गरेको खेल संयोजन समितिका सदस्य एवम् टोखा नगरकार्यपालिकाका सदस्य प्रेम कुमार सुनुवारले बताए ।टोखा नगरपालिकाले खेलाडीको सम्मान र हौसला बढाउँदै समग्र खेलकुद क्षेत्रको विकासका  लागि हरेक आर्थिक वर्षमा उचित बजेट विनियोजन गर्दै आएको छ ।