सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल

२९, पुस काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय शारीरिक अपाङ्गसंघले आज काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि’ विषयको राष्ट्रिय कार्यशालामा मन्त्री दाहालले सडक संरचना अपाङ्गमैत्री बनाउन सरकार लागिपरेको बताए । उनले भने, “हामीले सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।

सडक एवं सवारी दुर्घटनामार्फत हुने अपाङ्गता न्यूनीकरणका लागि हामी प्रतिबद्ध छौँ ।” सडक तथा सवारी दुर्घटना अपाङ्गता सिर्जना हुने जोखिमको क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन सबै पक्षको सहकार्यको आवश्यकता रहेको मन्त्री दाहालले उल्लेख गरे। सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिन यातायात व्यवसायी एवं मजदुरलाई आग्रह गरे ।