
१० माघ,काठमाडौं ।नवीनतम विचारहरूको उत्पादनमा गर्ने र काभ्रेसँगै सिंगो नेपाललाई नै विश्वमा चिनाउने उद्धेश्यले आगामी चैत्र महिनामा काभ्रेमा विश्व युवा महोत्सव गरिने भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा हुन लागेको सो महोत्सव काठमाडौँ विश्वविद्यालय परिसर,धुलिखेलमा हुँदै छ ।जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमका अनुसार आगामी चैत्र १४ गतेदेखि १८ गतेसम्म हुने सो महोत्सवमा विश्वभरका करिब १० हजार युवाहरूको प्रत्यक्ष संलग्नता रहने छ ।
नेपालमा नै पहिलो पटक आयोजना गर्न लागिएको उक्त महोत्सवमा विभिन्न २५ वटा विषयमा सेमिनार,खेलकुद, सांस्कृतिक कार्यक्रम हुने र अन्य २५ भन्दा बढी विषयमा विभिन्न गतिविधिहरु गराइने तयारी छ ।
३ लाख भन्दा बढीले अवलोकन गर्ने आँकलन गरिएको सो युवा महोत्सवमा विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका युवाहरूको सहभागिता रहने अध्यक्ष गौतमले बताएका छन् ।
सरकारको भिजन २०२५, राष्ट्रिय योजना आयोगको १६ औँ पञ्चवर्षीय योजनाका साथै दिगो विकास लक्ष्यका सूचकहरू पुरा गर्न महोत्सव केन्द्रित हुने प्रमुख गौतमको भनाई छ ।
महोत्सवका लागि हालसम्म ७५ देशका युवाहरूले अग्रिम नाम दर्ता गराइसकेका छन् ।कार्यक्रम अगावै दर्ता गर्नेलाई ७ हजार ५०० र कार्यक्रम अवधिमा दर्ता गर्नेलाई १० हजार शुल्क तोकिएको छ।
