
७ असोज, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आज बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।
२०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।
उनले फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको पनि जानकारी दिए ।
विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिने बताइएको छ ।
