कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति

१२, माघ काठमाडौं । काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ ।

कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् । त्यसैगरी विद्युतबाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेको हो । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षभरमा विभिन्न प्रकारका गरी चार सय ३१ विपद्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ ।