
२३, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वासनीय बनाउनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहज सेवा प्रवाहका निम्ति सूचना प्रविधि अत्यावश्यक भएको बताए।
अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित छलफल उनले वर्तमान अवस्थामा सेवाप्रवाहलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य छ भने ।
सेवा प्रवाहलाई भरपर्दो र अविछिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक जनशक्ति र प्राविधिक क्षमता विकास गर्न उनले सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिए । हरेक निकाय सूचना प्रणालीमा सक्षम भएमात्र गुणस्तरीय सेवा प्रवाह हुनसक्ने अर्थमन्त्रीको भनाइ थियो ।
