
६, फागुन दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभाहलको आज शिलान्यास गर्दै उनले प्राविधिक शिक्षालयमा लगानी वृद्धि गर्नुपर्ने बताए । उनले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
महासचिव पोखरेलले विकसित मुलुकहरूमा प्राविधिक शिक्षामा पहुँच र आकर्षण दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै नेपालमा पनि सोही अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले साधारण शिक्षाभन्दा प्राविधिक शिक्षाले सीप सहितको जनशक्ति उत्पादन हुने बताए ।
उनले प्राविधिक शिक्षामा विद्यार्थी सहभागिता २२ प्रतिशतसम्म पुर्याउन आवश्यक रहेको बताए । महासचिव पोखरेलले नेपाललाई आत्मनिर्भर बनाउन सीपमूलक तथा प्राविधिक शिक्षालाई सशक्त बनाउनुपर्नेमा विशेष जोड दिँदै सरकारी, निजी तथा शैक्षिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
