आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

९, फागुन काठमाडौं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो ।

आज भाषाहरूले विकास, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाइँदैछ ।