
१६, फागुन काठमाडौं । तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हुस्सुका कारण हवाई यातायात समेत प्रभावित भएको थियो ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि अधिकांश स्थानमा हुस्सु हटिसकेको र आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने जानकारी दिए । “हुस्सुको प्रभावले तराई भूभागको जनजीवन,स्वास्थ्य,सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हामीले अनुरोध समेत गरेका थियौँ । आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुन्छ ।” उनले भने।
“हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ”।उनले भने, “सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।”
