
२१, चैत काठमाडौं । काठमाडौँको तीनकुनेमा गत शुक्रबार (चैत १५) भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा थप ७ जना पक्राउ परेका छन्।
राज्य विरुद्धको कसुर र संगठित अपराधसम्बन्धीको कसुरमा १ र उपद्रव कसुरमा ६ जना गरी ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार राज्य विरुद्धको कसूरमा रूपन्देशी देवदह नगरपालिका-९ घर भएका ४७ वर्षीय प्रेमथापा मगर पक्राउ परेका हुन् । अपराधिक उपद्रव कसूरमा झापा गौरादह नगरपालिका-१ घर भएका २१ वर्षीय समीर मगर, रामेछाप सुनापाति गाउँपालिका-१ का २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङ फुलुङ नगरपालिका-३ का २३ वर्षीय सुशील बराल पक्राउ परेका छन् ।
सोही कसूरमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षीय रमेश राई, अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही र संखुसभा पाँचखपन नगरपालिका९२ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका९९ बस्ने ३९ वर्षीय मुकुन्द दाहाल पक्राउ परेको एसपी बोहराले जानकारी दिए ।
उनीहरूलाई बुधबार काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको एसपी बोहराले बताए । मंगलबार पनि तीनकुने घटनामा प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो। त्यसअघि पक्राउ गरिएको ४१ जना समेत गरेर अहिलेसम्म ६६ जना पक्राउ परेको प्रहरीको तथ्यांक छ।
