शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग

१५, वैशाख काठमाडौं । सांसदहरूले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्दै उनीहरूले शिक्षकको आन्दोलन लम्बिँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

शिक्षक आन्दोलनको माग सम्बोधन गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने उनीहरूको आग्रह छ । साथै शिक्षकको माग सम्बोधन र शिक्षा ऐन निर्माणको विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ । कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकतान्त्रिक सरकारले आन्दोलनरत पक्षमाथि दमन नभएर उनीहरूको माग सम्बोधनमा ख्याल गर्नुपर्ने बताए ।

नेकपा एमालेका सांसद सूर्य थापाले संयमित भएर आन्दोलन गर्न शिक्षकहरूको ध्यानाकर्षण आग्रह गरे । शिक्षकसँग विभिन्न सहमति गरेर कार्यान्वयन नगर्ने प्रवृत्तिले अहिलेको समस्या निम्तिएको भनेर सरकारको ध्यानाकर्षण गरे । राप्रपाकी सांसद रोशन कार्कीले शिक्षकमाथि दमन भएको भन्दै त्यसको विरोध गरिन् । शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरिन् ।