विश्वमा आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक छ : राष्ट्रपति पौडेल

२०, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति, सभ्यताको एकता एवं ऐक्यबद्धता रहेको बताएका छन् ।

यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्नेमा उनले जोड दिए । राष्ट्रपति पौडेलले आज नागार्जुन–७ रामकोटमा निर्मित बद्रीनारायण मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा “हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो । यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिन्छ ।

यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्छ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ”, भने ।

सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुन्छ भन्दै राष्ट्रपतिले वैदिक सनातन संस्कृति र परम्पराको प्रवर्द्धन गर्न मन्दिरका माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै उनले यसबाट धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।