संवैधानिक परिषद्सम्बन्धी विधेयक स्वीकृत

२१, वैशाख काठमाडौं । राष्ट्रिय सभाको आज (आइतबार) को बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत भएको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे।

यसअघि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सञ्चार मन्त्री गुरुङले परिषद्को बैठक तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको उपस्थितिमा कोरम पुगेको मानेर निर्णय गर्ने प्रावधान विधेयकमा राखिएको छ।

उनका अनुसार तत्काल बहाल रहेका सबै परिषद् सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था कायमै रहेको छ। यसमा सबै सदस्य उपस्थिति नभएमा वा उपदफा ६ बमोजिम सर्वसम्मति कायम गर्न नसकेका खण्डमा अर्को बैठक बोलाउने र उक्त बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थिति रहेका खण्डमा निर्णय गर्ने प्रबन्ध गरिएको छ।