ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

२७, वैशाख काठमाडौं । नवौँ संस्करणको पोखरा स्पोट्र्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित अवार्ड वितरण समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उनलाई अवार्ड हस्तान्तरण गरे । यसअघि अवार्ड छनोट समितिले उक्त अवार्डका लागि केसीको नाम सिफारिस गरेको थियो ।

नेपाल सुटिङ संघका उपाध्यक्ष केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसकेका छन्। बागलुङकी उनी सन् २००० मा सिड्नीमा भएको २७औँ ओलम्पिक खेलमा नेपालका तर्फबाट भाग लिई राष्ट्रिय कीर्तिमान राखेकी हुन् ।

उनले इन्डोनेसियामा सन् १९९५ मा सम्पन्न आठौँ एसियन सुटिङ च्याम्पियनसिप, सन् १९९५ मा भारतको मद्रासमा भएको सातौँ साफ गेम, सन् १९९७ मा भारतको न्यू दिल्लीमा सम्पन्न दोस्रो साफ सुटिङ च्याम्पियनसिप, थाइल्यान्डको बैंककमा सन् १९९८ मा सम्पन्न १३औँ एसियन गेम, काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ गेम, पाकिस्तानमा सन् २००० मा सम्पन्न नवौँ साउथ एसियन सुटिङ च्याम्पियनसिप, कोलम्बोमा सन् २००६ मा सम्पन्न १०औँ साउथ एसियन गेममा सहभागिता जनाएकी थिइन् ।