
२७, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोकिने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरूको महत्त्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए ।
‘हरियो वन नेपालको धन’को नारा पुरानै भए पनि धनको रूपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ, वनको विनाश हुन नदिएर सौर्य मण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ । अब यसको विस्तारमा भन्दा उत्पादनमा जानुपर्छ ।
वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ ।” हाल देशमा ४६ प्रतिशत भूभाग वनले ओगटेको छ ।
