
२७, वैशाख काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार हुन् भन्नुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै उनले भने “स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्दछ । त्यसैले प्रेस स्वतन्त्रता बिनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।”
मन्त्री डा। राणाले नागरिकको वाक तथा अभिव्यक्ति एवम् प्रेस स्वतन्त्रता अहिलेको युगमा झन् अत्यावश्क र महत्त्वपूर्ण रहेको बताउँदै यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने तर्क गरे ।
त्यसैले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उनले भने “सरकार सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ । नेपालको वर्तमान संविधानले मौलिक हकअन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । यसबाट पनि नेपालको प्रतिबद्धता स्पष्ट रूपमा झल्किन्छ ।”
