सञ्चार क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग

२८, वैशाख काठमाडौं । प्रेस सेन्टर नेपालले सञ्चार क्षेत्रमा महिला सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गर्न माग गरेको छ ।

आइतबार सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टर नेपालले यस्तो माग राखेको हो । ‘तीनै तहमा सञ्चारलगायत सबै क्षेत्रमा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गरियोस्’ आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न पनि सेन्टरले माग गरेको छ । सञ्चारमाध्यम दर्ता प्रक्रियालाई सरल बनाउन आग्रह गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘एकपटक दर्ता भइसकेपछि अन्य निकायमा पुनः दर्तारनवीकरण गर्नुपर्ने झञ्झटिलो व्यवस्था खारेज गरेर सहज रूपमा दर्ता गर्ने प्रबन्ध गरियोस् ।’

संघीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको ‘स्वरोजगारमूलक मिडिया प्रवर्द्धनका लागि समानुपातिक विज्ञापन वितरण प्रणाली’ प्रदेश तथा स्थानीय तहबाट पनि लागू गर्न ध्यानाकर्षण गरिएको छ । ‘स्थानीय विज्ञापन स्थानीय मिडियालाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गरियोस्’ ज्ञापनपत्रमार्फत भनिएको छ ।