परराष्ट्र मन्त्री डा.राणा र जाइकाका अध्यक्ष अकिहिकोबीच भेटवार्ता

९, जेठ काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा।तानाका अकिहिकोबीच भेटवार्ता भएको छ ।

टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मन्त्री डा।राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् ।

उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।