
१२, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गणतन्त्र दिवसका अवसरमा आयोजना गर्ने उत्सवलाई सफल पार्न पार्टीका शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका वडा तहसम्मका पदाधिकारीको भेलाले उत्सवसँगै शक्ति परिचालन गर्न नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको हो । भेलामा महासचिव शंकर पोखरेलले गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीले फैलाएका भ्रम चिर्न जनप्रदर्शनको तयारी गरिएको बताए ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनमानस परिचालन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । कोशी प्रदेशका जिल्लाहरूको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेश प्रदेशका आठ वटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
यस्तै उपत्यकाका जनप्रदर्शनमा ठूलो सङ्ख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ ।
स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई, बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवाली, सुदूरपश्चिम प्रदेश सम्पर्क समन्वय र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट तथा लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा कुमारी अर्याललाई तोकिएको छ ।
